
काठमाण्डौ । कर्तिक १० गते । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । आबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा गयराति भएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बल खेल्दै मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईमाथिको जितसँगै राजस्थान १२ खेलमा १० अङ्क जोडदै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित भएको मुम्बई ११ खेलमा १४ अङ्क जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । गयरातिको खेलपछि यस वर्षको प्ले अफ पछिको खेल तालिका पनि सार्वजनिक भएको छ ।
यसैबीच, साविक उपविजेता टिम चेन्नई सुपर किंग्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ । राजस्थान रोयल्सले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेपछि चेन्नई आईपीएलबाट बाहिरिने पहिलो टोली समेत बनेको छ । चेन्नईले लिगको बाँकी खेल जितेपनि प्ले अफ पुग्न सक्ने सम्भावना छैन । चेन्नईले अब दुई खेल खेल्न बाँकी रहेको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई तालिकाको पुछारमा रहेको छ । तीन पटकको च्याम्पियन चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल भएको हो ।